‘आफ्ना संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ’

  ३० असार २०७७


हाम्रा लवजहरु, हाम्रा बाजागाजाहरु, हामीले उपयोग गर्दै आएका श्रृंगारका सामानहरु, हाम्रो भाषा, हाम्रो धर्म यी सबै संस्कृतिभित्र पर्ने कुराहरु हुन् । हामीले कति संरक्षण गर्न सक्छौं भन्ने हामीभित्र नै भर पर्दछन् । यही सन्दर्भमा साउने संक्रान्ति मान्न एक ठाउँमा उभिएका छौं । यहीसँग जोडिएका संस्कार र संस्कृतिहरुलाई बचाइराख्नुपर्छ, संरक्षण गर्नुपर्छ भनेर अघि बढिरहेका छौं ।

नेपालमा विविध भाषा भाषीका नेपालीहरु बस्ने गरेका छौं । त्यसैले विगतमा हामी आदिवासी, जनजातिहरु, नेपालका सबै जातजातिहरु, मुस्लिम, दलित, खस आर्यहरुले आफ्ना संस्कार र संस्कृतिहरुलाई जोगाइराख्न, बचाइराख्नका लागि पटक पटक आन्दोलन गरेको इतिहास पनि हामीसँग छ । आन्दोलन भनेको हाम्रो समाज भएका असहजतालाई परिवर्तन गर्ने भन्ने बुझ्नुपर्छ । त्यही आन्दोलनले गर्दा हामीले हाम्रो संस्कार र संस्कृतिलाई संरक्षण गर्ने अधिकार संविधानमा लिपिबद्ध गरेका छौं । जसका कारण सबै जातजाति भाषा भाषीले आफ्ना अधिकारलाई लिपिबद्ध गर्न सफल भएका कारणले साउने संक्रान्ति मनाउन, आफ्ना संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न सहज भएको छ ।

यतिमात्र होइन, हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ÷सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो । जहाँ हामी फरक फरक संस्कार र संस्कृति बोकेका मानिसहरु बसोबास गर्दछौं । जसको कारणले हामीले एकले अर्कोलाई सम्मान गर्न, आदर गर्न जानेका छौं ।

जातीय संस्कार लिम्बू जातिसँग पनि छ, तर हामीले अर्को संस्कार, अर्को संस्कृतिका नेपालीलाई सम्मान गरेका छौं आदर गरेका छौं । त्यसकारण अन्यसँग प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्न सहजता प्राप्त भएको छ । त्यसैले यो चाडपर्व मनाउनेक्रममा सबैले नयाँ पुस्तालाई संस्कृति र संस्कार हस्तान्तरण गर्ने विषय सबैको आवश्यकता हो । त्यसैले संविधानले जुन अधिकार प्रदान गरेको छ, त्यसलाई प्रयोग गर्नका लागि हामीले हाम्रो आवाजलाई एउटै बनाउनुपर्‍यो ।

हामी जुनसुकै क्षेत्र र पेसामा रहे पनि हाम्रो संस्कार र संस्कृतिलाई जोगाउने दायित्व सबैको बराबरी हुन्छ । नेपालमा बसोबास गरिरहेका लिम्बू समूदायमात्र नभएर संसारका जुनसुकै क्षेत्रमा बसेका लिम्बू समूदायका दाजुभाइले यो पर्व यसरी नै मनाइरहेका छन् । जहाँ रहेर भए पनि आफ्नो संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व हाम्रो हो । यही सन्दर्भमा सिसेक्पा तङ्नामका अवसरमा कार्यक्रम आयोजना गरेर आफ्नो संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान प्रारम्भ गरेकोमा आयोजक संघ संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)का अवसरमा १ साउन २०७५ मा किरात याक्थुङ चुम्लुङ र लिम्बूजन्य संघ संस्थाले ललितपुरको महालक्ष्मीस्थानस्थित लिम्बू संग्रहालयमा आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश ।

हाम्रा संस्कार संस्कृतिलाई संरक्षण गर्दै गर्दा अरुका संस्कार र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ/सम्मान गरिरहेका छौं । किनभने हाम्रो देश बहुजाति, बहुभाषी, विभिन्न संस्कार र संस्कृतिले भरिपूर्ण सुन्दर नेपाल हो ।…